फेसबुकको ‘लाइक’ बटनको विरोधमा उत्रिए यसैका निर्माता

काठमाडौँ । जस्टिन रोजेन्स्टनले आफ्नो ल्यापटपको अपरेटिङ सिस्टममा फेरबदल गरेर रेडिट ब्लक गरेका छन् । उनले आफूलाई स्नापच्याटबाट निषेध गरेको छन् । यसलाई उनी लागूऔषध हिरोइनसँग तुलना गर्छन् । साथै उनले आफ्नो फेसबुक प्रयोगमा पनि नियन्त्रण गरेका रहेछन् । तर त्यति पनि प्रयाप्त नभएझैँ अगस्टमा यी ३४ वर्षीया प्रविधिक कार्यकारीले आफ्नो सामाजिक सञ्जाल र अन्य लती प्रविधि नियन्त्रण गर्न अझ क्रान्तिकारी कदम उठाएका छन् ।

रोजेन्स्टनले एक नयाँ आइफोन किने र त्यसको एसिस्टेन्टलाई कुनै एप्स डाउनलोड गर्न नमिल्ने बनाउन निर्देशन दिए ।

उनी फेसबुकको ‘लाइक’को मोहक गुणबारे विशेष जानकार थिए । उनले यसलाई ‘झुटो आनन्दको चहकदार घण्टी’ भन्ने गर्छन् । उनको अनुसार यो जति सम्मोहक छ त्यति नै खोक्रो छ । उनी यसबारेमा बढी जानकार हुनु कारण उनी आफै ‘लाइक’ बटन निर्मातामध्ये एक हुन् । उनी फेसबुकमा कार्यरत रहँदा सो बटन निर्माण गरेका थिए ।

‘गज्जब’ बटन भनिएको सो बटनको प्रतिरूप बनाउन रातभर जागा बसेको एक दशकपछि रोजेन्स्टन आफै आफ्नो आविष्कारको विरोधमा उत्रेका छन् । उनी ‘सिलिकन भ्याली’को एउटा सानो तर बढ्दो सङ्ख्यामा रहेको एक समूहको प्रतिनिधित्व गर्छन् जो ‘एटेन्सन अर्थतन्त्र’को उदयबारे चिन्ता लिन थालेका छन् । यस्ता खालका व्यवसायहरू विज्ञापनकामा टिकेको हुन्छन् ।

यी विरोधीहरूको समूहमा संस्थापक र प्रमुख कार्यकारी भने छैनन् । ती त संसारलाई अझ सुन्दर बनाउने मन्त्रबाट टस मसको अवस्थामा छैनन् । यसमा कर्पोरेट भर्याङमा केही खुट्किला चढेकाहरूको ः डिजाइनस्, इन्जिनियर र उत्पादन म्यानेजरहरूको सङ्ख्या बढी रहेको छ । रोजेनस्टेनजस्तै । “यो धेरै सामान्य अवस्था हो । मानवले राम्रो नियतले बनाएका कुराहरूले पछि नसोचेको परिणाम निकालेको धेरै उदाहरणहरू छन् ।”

Source :ratopati.com

गुगलमा काम गर्दा जिच्याट बनाउने टिममा पनि काम गरेका रोजेन्स्टन हाल सान फ्रान्सिस्कोमा आधारित एक कम्पनीमा काम गर्छन्, जसले अफिसमा उत्पादनशीलता सुधारसम्बन्धी काम गर्छ । उनी आजकल मोबाइलमा लत लाग्ने उपकरणको प्रयोगले मनोविज्ञानमा पर्ने असरबारे ख्याल गरिरहेका हुन्छन् । खोजका अनुसार मानिसले दैनिक रूपमा औसतमा २६१७ पटक मोबाइल छुने गर्छन् ।

प्रविधिले मान्छेको निरन्तर एकाग्रमा असर पारेर आइ.क्यूमै असर पर्नेबारेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । एक नयाँ अनुसन्धानले देखाए अनुसार स्मार्टफोनको वरपर रहँदा मात्रै पनि त्यसले मान्छेको दिमागमा असर पर्ने देखिएको छ । यो अनुसन्धानले गर्दा स्मार्टफोन बन्द गरिएको थियो । “हर कोहीको ध्यान भङ्ग छ”  रोजेनस्टनले भने “हर समय ।”

त्यो चासो प्रविधिले राजनीतिमा पार्ने प्रभावको तुलनामा सानो हो । विज्ञहरूले सामाजिक सञ्जालको लत र पछिल्लो समय देखिएको राजनीतिक बदलावमा सम्बन्ध रहेको औँल्याएका छन् । तिनले सामाजिक सञ्जालको हालको प्रयोगले राजनीति प्रणाली उल्ट्याउनेदेखि बेलगाम अवस्थामा यसले लोकतन्त्रलाई नै क्षति पुर्याउने देखाएको छ ।

सन् २००७ मा रोजेन्स्टेन फेसबुकको कर्मचारीको त्यो सानो समूहको एक सदस्य थिए, जो एकै क्लिकमा ‘लाइक’ हुने प्रविधिको विकास गर्नमा लागि परेका थिए । यसको प्रयोगको उद्देश्य सो प्लाटफर्ममा सकारात्मक प्रभाव सञ्चार गर्नुथियो । रोजेन्स्टन अनुसार सो बटन अभूतपूर्व सफल भयो । यसले फेसबुकको संलग्नतामा व्यापक वृद्धि गरायो । मान्छेहरू यसले प्रदान गर्ने अल्पकालीन आनन्दमा रमाउन थाले । फेसबुकले यसबाट प्रयोगकर्ताको रुचिहरू थाहा पाउने अवसर पायो । ती जानकारी सङ्कलन गरेर उसले त्यसलाई विज्ञापनदातालाई बेच्न थाल्यो । यो आइडिया ट्विटरले मुटु आकारको ‘लाइक’ (पहिले तारा आकारको ‘फेबरेट’)का रूपमा अनुसरण गर्यो । पछि इन्स्टाग्राम र अन्य धेरै एप्सहरू र वेबसाइटहरूले पनि यो प्रविधिको सिको गरे ।

“मलाई अहिले यसबारे बहस गर्नु विशेष महत्वपूर्ण लाग्नुको एउटा कारण हामी विगतको जीवन स्मरण गर्ने अन्तिम पुस्ता हौँला ।” रोजेन्स्टनले भने । हुन पनि समाजिक सञ्जालका नकारात्मक असरबारे चिन्ता गर्ने समूहका अधिकांश सदस्य ३० को दशक छन् । सायद घरमा तारको टेलिफोन रहेको सम्झना हुने यो अन्तिम पुस्ता होला ।

यो युवा पुस्ता आफूले निर्माण गरेको सामग्रीबाट आफै टाढिनु अर्थपूर्ण रहेको छ । यिनीहरू आफ्ना बच्चाहरू सिलिकन भ्यालीका ती स्कुलमा पठाउँछन् जहाँ आइफोन, आई–प्याड र ल्यापटपहरू समेत प्रतिबन्धित गरिएका छन् ।

सन् २०१७ मा आएको एडम अल्टरको पुस्तक ‘इरेस्टिबल’मा स्टिब जब्सको घरमा समेत यस्तै बन्देज रहेको उल्लेख छ । स्टिभ जब्सको आधिकारिक आत्मकथा लेख्ने क्रममा उनको घरमा कैयौँ पटक आउजाउ गरेका वाल्टर आइज्याकसनले जब्सको घरको वातावरणबारे अल्टरसँग अनुभव बाढेका छन् । “उनका बच्चा कोहीसँग पनि आइफोन वा आइप्याड थिएन । कसैमा पनि मोबाइल नहँुदाको छटपटी दैखिँदैन थियो ।” यो कुरा स्टिभ जब्स आफैले सन् २०१० मा न्युयोर्क टाइम्ससँगको अन्तवार्तामा भनेका थिए । उनले सो पत्रिकाका निक बिल्टनलाई आफ्ना बच्चाहरूले कहिले पनि आइप्याड नचलाएको बताएका थिए । यस्तै नियमन अरू प्रविधिका कार्यकारीले पनि आफ्नो घरमा लागू गरेको विल्टनको थप खोजले देखाएको थियो । सायद यो ड्रग व्यापारमा भनिने भनाइसँग मिल्छ ः आफ्नो उत्पादनको लती आफै नहुनु ।
Source : ratopati.com

 

54 total views, 1 views today

Comments

comments