एनआईसी एसियाको ‘स्विफ्ट हयाक’ भएको आशंका

कार्तिक ६, २०७४-एनआईसी एसिया बैंकको ‘स्विफ्ट हयाक’ गरेर रकम बाहिरिएको आशंकामा राष्ट्र बैंकले अनुसन्धान थालेको छ । हयाकरले बैंकको अन्तर्राष्ट्रिय कारोबार प्रणाली हयाक गरेर रकम अन्यन्त्र स्थानान्तरण गरेको आशंकामा राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको हो । आइतबार कार्यालय खुलेदेखि नै राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूको एक टोली एनआईसी बैंकमा अनुसन्धानका लागि खटाएको थियो । बैंकको विदेशी बैंकमा रहेको खातामा रहेको रकम हयाकरले आफूले चाहेको खातामा तानेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

‘केही रकम बाहिरिएको सूचना प्राप्त भएपछि अनुसन्धानका लागि सूचना प्राविधिकसहितको एक टोली बैंकमा पठाएका छौं,’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘उक्त टोलीको प्रतिवेदन प्राप्त भएपछि वास्तविकता थाहा होला ।’ कारोबारको प्रकृति र रकमसहित दोषी पहिचान गर्नका लागि टोलीलाई निर्देशन दिइएको पण्डितले बताए । घटनाको कारण र हिनामिना भएको रकमबारे यथार्थ जानकारी आइनसकेको उनको भनाइ छ । पछिल्ला केही दिनयता उक्त बैंकको कारोबार भएका ५/६ वटा राष्ट्रमा पत्राचार गरी कारोबार निरीक्षणका लागि आग्रह गरिएको पनि उनले जनाए । राष्ट्र बैंकले वित्तीय जानकारी इकाई (एफआईयू) मार्फत यस्तो आग्रह गरेको हो ।

Source : ekantipur.com

954 total views, 5 views today

Comments

comments