पन्ध्र महिनादेखि धूलो उडाउँदै खुमलटार सडक, स्थानीय भन्छन्- अब सडकै बन्द गर्दिन्छौं

वसन्त बस्नेत सुन्धारामा रेस्टुरेन्ट चलाउँथे। राम्रो चल्थ्यो। तै चित्त बुझेन। बस्ती फैलिरहेको ललितपुर, खुमलटारमा अझ राम्रो चलाउने इच्छा जाग्यो।

वसन्तले गत भदौमा सुन्धाराको रेस्टुरेन्ट बेचे।

त्यसबाट आएको पैसा र ऋण खोजेर झन्डै १८ लाख रूपैयाँ जम्मा गरे। अनि हानिए, खुमलटार।

मूल सडककै नयाँ घरको भुइँतलामा महिनाको ४५ हजार पर्ने दुइटा सटर भाडामा लिए। साजसज्जा गरे। छ जना कर्मचारी राखे। र, खोले– कैलाश तन्दुरी फास्ट फुड क्याफे।

खुमलटार छेउछाउ थुप्रै आवासीय कोलोनी खुलेका थिए। सडक फराक हुँदै थियो। धूलोधुवाँ त थियो, तर मंसिरमै कालोपत्रे सकिन्छ भनेकाले ढुक्क थिए। सुनाकोठी–चापागाउँ जाने यो बाटोमा रिङरोडबाट बाहिर निस्केपछि गतिलो फास्टफुड थिएन।

‘असोज र कात्तिक महिना जेनतेन धूलोधुवाँ सहने हो भने मंसिरबाट ठाउँ राम्रो हुन्छ र व्यवसाय फस्टाउँछ भन्ने मेरो सोच थियो,’ बस्नेतले भने, ‘ठूलो सपना देखेर ठूलो लगानीमा रेस्टुरेन्ट विस्तार गरेँ।’

आज यही सपना उनलाई ‘निल्नु न ओकल्नु’ भएको छ। त्यत्रो लगानी गरिसकेको व्यवसाय न छाडेर जान सक्छन्, न त राम्ररी चलाउन।

यसको मुख्य कारण हो, सडक निर्माणको ढिलासुस्ती।

मंसिरमै सकिन्छ भनेको सडक मध्य फागुनमा पनि उस्तै छ। खनेर छाडेको १५ महिना बितिसक्दा पनि कालोपत्रे गर्न कसैको चासो छैन। धूलोधुवाँले स्थानीय आक्रान्त छन्। यसैको मारमा चेपिएको छ, वसन्तको व्यवसाय।

‘सडक बन्ला र राम्रो व्यवसाय होला भनेर सुन्धारादेखि आएँ,’ उनले भने, ‘न सडक बन्यो, न व्यापार भयो। अब त दिनहुँ धूलोधुवाँ खाँदा खाँदा आफ्नै स्वास्थ्य बिग्रन थालिसक्यो।’

बसन्त बस्नेत।

यो सडक सधैं यस्तो थिएन।

पन्ध्र महिनाअघि कालोपत्रे थियो। मेलम्ची खानेपानी आयोजनाले पाइप ओछ्याउन रातारात खन्यो। ठाउँ–ठाउँमा ठूल्ठूला खाल्डा बनायो। सडक अस्तव्यस्त पार्यो। त्यत्तिकै छाड्यो। मंसिरमा सक्ने भनी कबुलेको आयोजनाले अहिलेसम्म तीनचोटि भाका सारिसकेको छ। बनाउने सूरसार अझै छैन। यसबीच खुमलटार सडकको करिब एक किलोमिटर खण्ड ‘धूलोटार’ बनेको छ। रिङरोडबाट बाहिरिएदेखि नै धूलोको कुइरीमण्डल सुरु हुन्छ। एउटा गाडी गुडेपछि एक छिनसम्मै सडक वारिपारि देखिन्न।

हुँदाहुँदा धूलोधुवाँकै कारण मध्यसहरको यो सडकमा चहलपहलै कम छ। मान्छे धूलो छिचोल्दै हिँड्ने आँट गर्दैनन्। गाडी गुड्छन्, तर यो बाटो नआई नहुने सार्वजनिक सवारी र स्कुलका गाडी बढी छन्। निजी सवारी अत्यन्तै कम देखिन्छन्। त्यसमा पनि दिउँसो त सार्वजनिक बसकै एकाधिकार देखिन्छ। पहिले यही बाटो ओहोरदोहोर गर्ने सवारी अचेल नखिपोट हुँदै जान थालेको स्थानीय बताउँछन्।

‘हाम्रो यो ठाउँ त अचेल टेलिभिजन समाचारमा देखिने विदेशी युद्धभूमिजस्तै लाग्छ,’ स्थानीय सुविता गैरेले भनिन्, ‘अग्ला अग्ला घर छन्, घर वरिपरि धूलोले कुइरीमण्डल छ, सडक भत्केको छ, ठूल्ठूला खाल्डाखुल्डी छन्, अनि बाटोमा न मान्छे देखिन्छन्, न गाडीहरू। यस्तै हुन्छ नि समाचारमा देखिने युद्धभूमि!’

मान्छे र सवारी ओहोरदोहोर नै पातलिएपछि सुविताको सपना र स्वास्थ्य दुवैमा ग्रहण लागेको छ।

गोरखाकी सुविता व्यापार गर्न काठमाडौं आएकी हुन्। सडकसँगै जोडिएको घरमा उनको किराना पसल छ।

‘पसल गरेर छोरीछोराको पढाइ सहज बनाउँला भन्ने थियो। साथीभाइ भएकाले यहीँ आइयो,’ गैरेले भनिन्, ‘यो बाटोमा एकछिन टिक्न सकस हुन्छ। मान्छे आउनै डराउँछन्, पसलमा को आओस्?’

सुविता गैरे।

हामी पुग्दा उनको पसल खुल्ला थियो, तर बन्दजस्तै देखिन्थ्यो। भन्नुको मतलब, उनले सटर खोलेकी थिइन्, धूलो छेक्न पर्दा लगाएकी थिइन्। यस्तो लाग्थ्यो, त्यो सडकछेउको किराना पसल होइन, घरको भान्सा हो।

सडकतिर फर्केको मोहडा तीनचौथाइभन्दा बढी ढाकेको पर्दा उघार्दै हामी भित्र छिर्दा सुविता काउन्टरपछाडि टुक्रुक्क बसिरहेकी थिइन्।

‘पसलमा पनि कसैले पर्दा हाल्छन् त दिदी?’

‘यसो नगरी त धरै छैन,’ उनले भनिन्, ‘काठमाडौं राम्रो होला भनेको त नर्कमै पसेजस्तो भयो।’

उनी त्यही घरको माथिल्लो तलामा बस्छिन्। कोठा सडकतिरै फर्केको छ। बाहिरी भर्याङबाट चढेर एक तलामाथि जानुपर्छ। कोठाका झ्यालढोका सडकतिरै छन्। एकैछिन धूलो नसम्मिने सडकसामु बस्दा दैनिक जीवन भयावह बनेको उनी बताउँछिन्।

‘हामी खाना पकाउन सक्दैनौं। झ्यालढोका बन्द गर्नुपर्छ। खाना बनाउँदा आउने खारले सासै रोकिएलाजस्तो हुन्छ। तै धूलोभन्दा त्यही बेस भन्दै बस्नुपरेको छ,’ उनले भनिन्, ‘कोठा सफाको त कुरै छैन। हातमा टालो लिएर पुछेको पछ्यै गरे पनि पुछ्नुको मात्र दुःख हो, जति पुछे पनि उस्तै।’

सुविताका तीन सन्तान छन्– १६ वर्षकी छोरी, १४ र ११ वर्षका छोरा। यहाँ बस्न थालेपछि आफू र छोरीछोरा धेरै बिरामी पर्न थालेको उनी बताउँछिन्। खासगरी आँखा पोल्ने, महिनादिनमै रुघाखोकी, ज्वरोले आक्रान्त बनाउने, घाँटी दुख्ने र जीउ चिलाउने समस्या आइरहन्छ।

‘गाउँ हुँदा केही हुन्नथ्यो, यहाँ आएपछि धेरै बिरामी भइयो,’ उनले भनिन्, ‘खाना खाँदा किरिक–किरिक बालुवा लाग्छ। सुरुसुरुमा त पखाला लागेको लाग्यै भयो। नानीबाबुको उस्तै बिजोग। गाउँको धूलोमाटो छल्न राजधानी आएको, यो त धूलोधुँवाकै सागर रहेछ। माटोमै टाउको गाडेजस्तो। बरू गाउँमा माटै खाँदा केही हुन्नथ्यो, यहाँको धूलो विषालु। सास फेर्दा नि बिरामी होइने।’

सडकसँगै र आसपास बस्ने सबै सर्वसाधारणको अवस्था यस्तै हो।

जनताको ‘सुविस्ता’ निम्ति सुरु भएको मेलम्ची आयोजनाको गैरजिम्मेवारी र लापरबाहीले उनीहरूकै जीवन ‘सकसपूर्ण’ हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयले गुनासो गर्दै आएका छन्।

बारम्बार अनुरोध र सडकमै ओर्लेर दबाब दिँदा पनि ‘भाका’ राख्दै पन्छिएको उनीहरूको भनाइ छ।

‘हामीले कसलाई मात्र भनेनौं। मेलम्चीका ठेकेदार, हाकिम, मेयर र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भनिसक्यौं,’ स्थानीय रामकुमार थापाले भने, ‘उनीहरू सबैले आश्वासन दिँदै पठाए। अब काम हुन्छ भन्दै मिति तोके। मिति आउँछ, जान्छ, उनीहरू आउँदैनन्।’

जतिसुकै टारे पनि गत पुसमा उनीहरूको आस जाग्यो, जब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खुमलटार बसाइँ सरे। उनी यही बाटो हुँदै दिनको दुई/तीनपटक ओहोरदोहोर गर्छन्। सडकको दुर्दशा र स्थानीयको दुर्गती आफैंले भोगेपछि दाहालले केही पहल गरिदेलान् कि भन्ने उनीहरूले ठाने।

खुमलटारमा पन्ध्र महिनादेखि खनेर छाडिएको सडक खण्ड।

सोचेजस्तो भएन।

धूलाम्मे सडकबीच गाडीको सिसा लगाएर हिँड्ने दाहालले सबै देख्दा–देख्दै आँखा चिम्लेझैं गरेको स्थानीयको आरोप छ।

‘देशका जिम्मेवार नेता आफैं दिनहुँ यो बाटो हिँड्नुहुन्छ। कहिले हाम्रो मर्का हेर्नुहुन्न। हामीले गएर उहाँलाई भन्दा ‘हो, यो राष्ट्रलाई नै घात हुने समस्या हो, चाँडै समाधान गर्ने प्रयास गर्छौं’ भन्नुहुन्छ,’ थापाले भने, ‘यो चाँडै भनेको कहिले हो थाहा छैन।’

कुनै पनि जिम्मेवार निकायले सडकको जिम्मेवारी नलिँदा निर्माण ढिला भएको उनी बताउँछन्।

उनका अनुसार यसबारे मेलम्ची आयोजनासँग धेरैपटक वार्ता भइसक्यो। आयोजनाले हरेकपटक आश्वासन दिँदै पठाउने गरेको छ। सडक विभाग र नगरपालिका गुहार्दा पनि सुनुवाइ भएको छैन। बरु केही समयअघि खुमलटारकै माथिल्लो बस्तीका स्थानीयले दबाबमूलक कार्यक्रम गरे। सडकमा उभिएर दुई घन्टाजति बाटो रोके। अवरुद्ध सडक खोल्न प्रहरी आए। र, सम्झौता गराए।

त्यसपछि बल्ल मेलम्चीले तारन्तार माथिको खण्ड कालोपत्रे गर्यो।

त्यही बेला धुलाम्मे तल्लो खण्ड पनि कालोपत्रे गर्नुपर्ने थियो। सडक विस्तारको बहाना बनाउँदै छाडेर हिँडेको मेलम्चीले त्यसपछि आनाकानी गर्दै आएको छ। स्थानीयले मेलम्चीका अधिकारी र ठेकेदारलाई ‘तुरुन्त काम सक्ने’ प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गराए। सयौंचोटि भन्न गए। समस्या ज्यूँका त्यूँ।

‘बनाउँछु भन्छन्, बनाउँदैनन्,’ बाह्र वर्षदेखि तरकारी पसल चलाउँदै आएका रमेश सुवेदीले भने, ‘अहिले आएर बल्ल रिङरोडबाट अलिअलि काम सुरु गरेका छन्। त्यो पनि चार–पाँच जना कर्मचारी राखेका छन्, यो कछुवा चालमा कहिले बनिसक्ला!’

सम्बन्धित निकाय आफ्नो जिम्मेवारीबाट जतिसुकै टक्टकिए पनि यहाँ बाँच्नुपर्ने स्थानीयले हो। धूलोधुवाँ खानुपर्ने उनीहरूले नै हो। यसबाट बच्ने उपाय पनि उनीहरूले नै सोचे। प्रत्येक घरबाट साताको पाँच सय रुपैयाँ उठाएर नियमित पानी हाल्ने व्यवस्था गरियो। कतिले आफ्नै इनारबाट पानी हालिरहेका छन्।

दायाँबाटः रामकुमार थापा, रमेश सुवेदी र भवानी सुवेदी।

यति गर्दा पनि समस्या सुल्झेन। दिनभरि गाडीले उडाउने धूलोधुवाँ एक ट्यांकर पानीले के साम्य होस्!

त्यसमाथि विस्तारै पैसा उठाउनै समस्या पर्यो। ‘धूलो पनि हामी खाने, पानी पनि हामी नै किनेर हाल्ने’ भन्दै कतिपयले पैसा दिन मानेनन्।

‘कुरा ठिकै हो। मान्छेलाई यहाँ खानलाउनै समस्या छ। त्यसमाथि सडक सफा गर्न पनि आफैं पैसा हाल्ने ल्याकत कसको होस्,’ थापाले भने, ‘जनताले यत्रो कर तिरेका छन्, नगरपालिकाले नै नियमित पानी हालेर धूलो सम्याइदिनुपर्ने होइन र? तर कसले सुनिदिने?’

चौध वर्षदेखि यहीँ बस्दै आएकी ४३ वर्षीया चिजमाया यसै भन्छिन्।

बिहानदेखि बेलुकीसम्म बुङबुङ्ती उड्ने धूलो दिनको एकचोटि पानी हालेर साम्य नहुने उनको भनाइ छ।

‘यो त हात्तीको मुखमा जिराजस्तै हो,’ कपडा सिलाइ व्यवसाय गर्ने उनले भनिन्, ‘यही सडकका कारण कमाइ हुन छाड्यो, अब यसैका लागि भएको पनि खर्च गर्न कहाँ पाएर ल्याउनु!’

कुनै बेला व्यस्त हुने उनको कपडा पसलमा अचेल स्थानीयसमेत आउँदैनन्। धूलोले मैलिएका कपडा किन्न त्यसै पनि को आउलान् र! त्यही भएर अचेल उनको दैनिकी नै धूलो खाँदै ग्राहक कुर्ने र बिहान–बेलुका त्यही धूलाम्मे सडकसँगै बास बसेर स्वास्थ्य बिगार्ने भएको छ।

‘धूलोका कारण रोग लागेर धेरै बाँचिदैन कि जस्तो पो लाग्छ,’ उनले भनिन्।

बायाँबाटः चिजमाया र मोहिनी गौतम।

स्थानीय व्यवसायीहरूले भनेझैं यहाँ साँच्चिकै ग्राहकको खडेरी लागेको छ। कुराकानी क्रममा हामी चारवटा पसल छिरेका थियौं। प्रत्येक पसलमा लगभग आधा घन्टा बस्यौं। हामी बसुञ्जेल कोही ग्राहक आएनन्। कैलाश फास्टफुडमा त झन्डै एक घन्टा बिताउँदा पनि एक कप चिया खान कोही छिरेनन्। उनको पसल भित्र सफासुग्घर छ। नयाँ रङरोगन गरेका छन्। कुर्सी–टेबल पनि नयाँ छन्।

‘भित्र जस्तोसुकै होस्, बाहिरबाट हेर्दै फुङ्ग धूलोले छोपिएको देखेपछि ग्राहक त्यसै तर्सिन्छन्,’ रेस्टुरेन्ट सञ्चालक वसन्तले भने, ‘सरकारले जनतालाई समृद्ध बनाउन सडक बनाउने हो, यहाँ त हामीलाई बाँच्नै कठिन बनाइदियो।’

सबभन्दा जोखिममा बालबच्चा र वृद्ध छन्। तरकारी पसल सञ्चालक सुवेदी र किराना व्यवसायी गैरे आफ्ना केटाकेटी हरेक महिनाजसो बिरामी पर्ने सुनाउँछन्।

चिजमायाको पसलमा भेटिएकी ८२ वर्षीया ‘आमा’ को भनाइ अझ घतलाग्दो छ।

पसलको ढोकानिर बेन्चमाथि पलेँटी कसेर साग केलाइरहेकी ती आमैले आफ्नो नाम बताउन मानिनन्। गोरखा घर बताउने उनले भनिन्, ‘एउटी बूढी आमैको समस्या लेख्दिनुस् न, नाम किन चाहियो?’

हामीले ‘हुन्छ’ भनेपछि उनले आफ्नो समस्या बताइन्।

‘म यहीँ पछाडि बस्छु। घरमा सोझै धूलो त आउँदैन, तर धूलो हो, उड्दै उड्दै जहाँ पनि पुगिहाल्छ। मकहाँ पनि पुग्छ। अब म बूढीआमै भनेर धूलोले माया गर्दैन क्यारे,’ उनी खितिती हाँसिन्, अनि फेरि सागतिरै औंला नचाउँदै भनिन्, ‘हेर नानी, म बूढी मान्छे, टाढाटाढा जान सक्दिनँ। साँझ–बिहान यतै टहलिन्थेँ। डाक्टरले हिँड्नुपर्छ है आमा, कोठामा धुम्धुम्ती नबस्नू भन्थे। अब डाक्टरले भनेर हुन्छ? यो धूलो–धुवाँमा कहाँ हिँड्नू? सुरु–सुरुमा त हिँडे पनि, बिरामी परेँ। फेरि अर्को डाक्टरले भन्यो– आमै यस्तो धूलोधुवाँमा नहिँड्नू है। कोठाभित्रै बसिरहनू। के बुद्धि भाका हुन्! कहिले हिँड् भन्छ, कहिले नहिँड भन्छ।’

८२ वर्षीया आमा।

‘जसले जेसुकै भनोस्, आजभोलि कहिलेकाहीँ निस्कन्छु। घरमा बस्दाबस्दा कुँजिएझैं लाग्छ। यसो यहीँ पसलतिर आउँछु। बस्दाबस्दा धूलोले सासै बन्द होलाजस्तो हुन्छ, अनि फर्कन्छु,’ उनले भनिन्, ‘सरकारले कहिलेसम्म गर्ने हो यस्तो पाप?’

स्थानीयलाई धूलोधुवाँबाट जोगाउने उपाय नभएको होइन।

मेलम्चीले आफ्नो प्रतिबद्धताअनुसार द्रुतगतिमा काम थाले केही राहत मिल्ने उनीहरू बताउँछन्। जहिल्यै मिति टाँगेर झुलाउने प्रवृत्तिले यहाँबाट मान्छे विस्थापित हुन थालेका छन्। स्थानीय थापाका अनुसार यहाँका ५–६ वटा पसल विस्थापित भइसके। केही त बन्दै भए। कति पसल हरेक महिना किनबेच हुन्छन्।

व्यापारिक दृष्टिले यो ठाउँ अस्थिर क्षेत्रका रूपमा विकास भइरहेको थापा बताउँछन्।

‘अब अति भइसक्यो,’ उनले भने, ‘फागुन महिनाभित्र कामको सुरसार नभए हामी पहिलेजस्तै सडक अवरुद्ध पार्नेछौं।’

‘सरकार सधैं दबाबको भाषा मात्र बुझ्छ। आफैंले देख्नुपर्ने समस्या पनि स्थानीय जागेपछि मात्र देख्छ। पहिले पनि बाटो छेकेपछि मात्र बन्यो, अब एक महिनामा पनि केही भएन भने हामी फेरि बाटो छेक्छौं,’ उनले भने।

खुमलटारमा पन्ध्र महिनादेखि खनेर छाडिएको सडक खण्ड।
खुमलटारमा पन्ध्र महिनादेखि खनेर छाडिएको सडक खण्ड।

Source Setopati.com

Comments

comments

News Reporter