बस्ती छेउको घाटः शव जलाउने ठाउँमा झगडा ! - HNB News

बस्ती छेउको घाटः शव जलाउने ठाउँमा झगडा !

२६ मंसिर, काठमाडौं । शनिबार चाबहिल, पिंगकी ४९ वर्षीया भीममाया डंगोलको निधन भयो । परम्पराअनुसार गुठियारहरुले प्रयोग गर्दै आएको नजिकैको घाटमा दाहसंस्कारका लागि शव लगियो । तर, बस्तीसँगै जोडिएको घाटमा दाहसंस्कार गर्दा दुर्गन्ध फैलिने भन्दै केही स्थानीयले अवरोध गरे ।

केहीबेरमै त्यहाँ ठूलो भिड जम्मा भयो । भनाभन, गालीगलौच र चर्काचर्की बढ्दै गयो । दुई पक्षबीच मुडभेडको स्थिति आएपछि प्रहरी घेरामा भीममायाको अन्तिम संस्कार गरियो ।

काठमाडौं महानगरका मेयरसमक्ष दुबै पक्षले कुरा राख्ने र समाधान निकाल्ने सहमति गर्दै घाटको विवाद थामथुम पारियो ।

तर, तत्काललाई साम्य भए पनि यो विवाद भुँसको आगोजसरी भित्रभित्रै सल्किइरहेको छ ।

झण्डै एक वर्षअगाडि पनि यही ठाउँमा स्थानीय कान्छी शाक्यको शव जलाउने क्रममा पनि स्थानीयले विरोध गरेका थिए ।

चाबहिलको पिंगद्यः र आसपासको क्षेत्रमा डंगोल र शाक्यहरुका छुट्टा छुट्टै घाट छन् । चावहिलस्थित पिंग भन्ने ठाउँ, अर्थात् गणेश मन्दिरबाट विद्युत प्राधिकरणको कार्यालय हुँदै गंगाहिटीतर्फ जाँदा नदी किनारमा पर्छ ।

पुस्तौंपुस्तादेखि प्रयोग गर्दै आएको घाटमा शव जलाउन नपाउने अवस्था आएपछि चाःबही (चाबहिल) का रैथाने नेवार समुदायले यसलाई ‘घाटमाथि भएको अतिक्रमण’ मानेका छन् ।

बाहिरबाट उपत्यकामा आएका नयाँ बासिन्दालाई ‘आप्रवासी’ को संज्ञा दिने उनीहरुले आफ्नो परम्परामाथि धावा बोल्नेहरुविरुद्ध एक हुने बताएका छन् । स्थानीय नेवार समुदायले बुधबार घाटमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शनसमेत गरेका छन् ।

वादविवाद : घाट जोगाउने कि दुर्गन्ध फैलाउने ?

काठमाडौं उपत्यकाका मूलवासी हुन् नेवार समुदाय । वर्षौंदेखि यहाँका रैथाने बासिन्दा रहेका उनीहरुले खोला किनार र घना झाडीमा घाट बनाएर शव जलाउने गरेका थिए ।
तर, पछिल्लो समय बाहिरबाट आएर घर बनाउनेहरुको संख्या बढ्दो छ । नदी किरारसम्मै घर बनाएर बस्न थालेका छन्, जसले गर्दा रैनाथे नेवार समुदायका घाटहरु अहिले बस्तीको बीच भागमा पर्न थालेका छन् ।

परिवारका सदस्यको मृत्युपछि दाहसंस्कार गर्ने घाटसमेत संकटमा परेको रैथाने बासिन्दाहरुको गुनासो छ ।

नयाँ बासिन्दाहरु भने आफ्नो घरनजिकै शव जलाउँदा दुर्गन्ध फैलिने गुनासो गर्छन् । रैथाने बासिन्दाको प्रश्न छ– घाटको नजिक किन घर बनाएको त ?

दाहसंस्कारस्थलको विकल्पको रुपमा पशुपति जान सुझाउँदा रैथाने बासिन्दाहरु आफ्ना पूर्वजले प्रयोग गर्दै आएको घाट छाड्न नसक्ने बताउँछन् ।

चावहिल पिंगमा रहेको घाटअगाडि स्थानीय मिलन जोशीको छ । उनले एक वर्षअघि मात्र घाटको अघिल्तिर घर किनेका हुन् । घर किन्ने बेलामा बेच्नेले त्यो घाटमा दाहसंस्कार गर्ने क्रम बन्द भइसकेको बताएको उनको परिवारको दाबी छ ।

उनीहरु घरमा बस्न थालेयता त्यो घाटमा दुईवटा शव दाहसंस्कारका लागि ल्याइयो । पहिलोपटक उनकै अगुवाइमा विरोध भयो । योपटक त विवादले चर्को रुप लियो ।
बस्तीको बीचमा दाहसंस्कार गर्दा चौतर्फी असर पर्ने देखेर विरोधमा उत्रिएको उनी बताउँछन् । ‘घरअगाडि लास जलाउन बन्द गरौं, अन्यत्रको दाहसंस्कारस्थल प्रयोग गरौं भनेको हो’ घाट अगाडिको घरमा भेटिएका उनले अनलाइनबरसँग भने ।

नजिकै घर भएकी कृष्णदेवी डंगोल छिन् । उनका चार पुस्ताको अन्तिम संस्कार यही घाटमा भयो । ०६६ सालमा उनका श्रीमानको दाहसंस्कार पनि यहीँ भयो ।

चारैतिर घर बनेपछि उनलाई यो घाटमा शव जलाउनु अनपयुक्त हो कि भन्ने लागेको छ । तर, परम्परा र गुठी सम्झिँदा त्यसको विकल्प खोज्ने आँट उनमा छैन ।

घाटसँगै टाँसिएको मन्दिरभन्दा अगाडि लक्ष्मी श्रेष्ठको घर छ । दुई दशकभन्दा लामो बसाइमा उनले त्यहाँ कैयौं शवको दाहसंस्कार भएको देखेकी छन् । शव जलाएको दिन दुर्गन्धका कारण उनको घरमा खान पाक्दैन । उनी भन्छिन्– ‘हुन त पुरानो घाट हो, डंगोलहरुको । अलिकतिअगाडि शाक्यहरुको पनि यस्तै घाट छ । अहिले चारैतिर घरहरु बने, अब त जलाउनेहरुले आफैं बुझ्नुपर्ने हो ।’

सोही ठाउँमा विगत १२ वर्षदेखि बहालमा बस्दै आएकी झापाकी बिमला पोखरेल भन्छिन्, ‘बस्तीको बीचमा शव जलाउँदा असर पर्छ भन्ने बुझ्नुपर्ने हो । तर, के गर्नु ?’
डंगोलहरुले प्रयोग गर्दै आएको यो घाटमा पछिल्लो समय दाहसंस्कार गर्ने क्रम पातलिएको छ । अस्पतालमा मृत्यु भएकाहरुलाई पशुपति आर्यघाटमा लैजाने गरिएको छ । तर, कतिपयले जीवित छँदा नै इच्छा व्यक्त गरेका हुन्छन् कि मृत्युपछि बाहुबाजेले प्रयोग गर्दै आएको घाटमै लैजानू ।

गुठीका कारण पनि यो घाटमा शव ल्याइन्छ । शव अन्त्येष्टिका क्रममा स्थानीयले विरोध गर्न थालेपछि त झन् रैथाने र गुठीले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्ध डंगोलको बुझाइ पनि यस्तै छ । ‘यहाँका रैनाथे बासिन्दालाई यो घटनाले तोड परेको देख्छु । परापूर्वकालदेखि भोगचलन गर्दै आएको घाटमा दाहसंस्कार गर्न दिइएन भन्ने परेको छ’ उनले अनलाइनखबरसँग भने, ‘यसले भावनात्मक द्वन्द्व बढ्ने खतरा बढ्यो ।’

चावहिलका पुराना सम्पदा र गुठीमाथि नयाँ बासिन्दाले धावा बोल्न थालेको बुझाइ रैथानेहरुमा झाँगिएको उनले अनलाइनखबरलाई सुनाए । उनले यस विषयमा मेयर विद्यासुन्दर शाक्यसँग पनि कुरा गरेका रहेछन् । ‘मेयरसाबले संविधानअनुसार चल्नू भनेर निर्देशन दिनुभएको छ, हामी त्यसको संरक्षणमा लाग्छौं’ उनले भने, ‘तर, घनाबस्तीका बीचमा घाट राख्नु अव्यवहारिक हुन लाग्यो ।’

नेवारहरुको द्वीप अर्थात मसानघाट

नेवारी समुदायमा कसैको मृत्यु हुँदा दाहसंस्कारका लागि द्वीप (घाट) बनाउने परम्परा छ । काठमाडौंकै विभिन्न स्थानमा श्रेष्ठ, डंगोल, शाक्य लगायतको अलग–अलग द्वीप छ । चारुमती विहार र आसवासका क्षेत्रका नेवा समुदायका कुनै पनि सदस्यको मृत्यु भएमा पिंग देवताको वरिपरि रहेका द्वीपमध्ये आ–आफ्नो जातको द्वीप रहेको स्थानमा लगेर दाहसंस्कार गरिन्थ्यो ।

चावहिल कुटुबहालका शाक्यहरुको देखा हुनेहरु (विशेष पूजा गरी लिइएको दिक्षा प्राप्त व्यक्ति) र देखा नहुनेहरुको पनि अलग्गैे द्वीप छ । त्यस्तै नरः अर्थात हाँडिगाउँका महर्जन, चाःबहीका महर्जनहरुको पनि बेग्लाबेग्लै द्वीप रहेको स्थानीय सुनाउँछन् ।

स्थानीयका अनुसार चावहिल क्षेत्रमा मात्रै यस्ता सातवटा द्वीप छन् । त्यसमा पनि बच्चाहरुको अलगै हुन्छ ।

नेवार समुदायमा द्वीपलाई असाध्यै डरलाग्दो ठाउँका रुपमा चित्रित गरिन्छ । भुतप्रेतको त्रासका कारण पहिले पहिले मृत शरीरलाई दागबत्ती दिइसकेपछि गुठियारहरु कोही पनि कुरेर बस्दैनथे ।

तर, अहिले समय फेरिएको छ ।

चाबहिलका स्थानीय गोपाल श्रेष्ठका अनुसार यस्तो द्वीप बनाउने प्रचलन परापूर्वकालदेखिकै हो । ‘पहिला–पहिला देशभित्र (मानव वस्ती) र देशबाहिर (खेत) भनि सीमाकंन गरिएको हुन्थ्यो, बगर, झाडीतिर घाटको व्यवस्था गरिन्थ्यो,’ उनले भने । पहिले मानव वस्तीभन्दा पर नदीको छेउछाउमा घाट बनाइएको हो ।

स्थानीय कुसुम श्रेष्ठका अनुसार चावहिल, पिंगको त्यो घाट आसपास पनि ठूलो र डरलाग्दो झाडी थियो । तर, अहिले घाटको चारैतिर अहिले ठूला–ठूला घर ठडिएका छन् । ‘हामी यो बाटो हिँड्नै डर मान्नुपर्ने अवस्था थियो, अहिले घाट नै हराउला जस्तो भो,’ उनी सम्झिन्छन् ।

नयाँ बस्तीहरु बढ्दै जाँदा धेरै पशुपति जान थाले । तर, परम्परा र रीतिरिवाजलाई पछ्याउनेहरु जसरी पनि आफ्नै जातको दीप अर्थात घाटमा दाहसंस्कार गरिनुपर्ने मान्यता राख्छन् ।

अव्यवस्थित सहरीकरणको असर

काठमाडौं उपत्यकाको बसोबास एकदमै अव्यवस्थित छ । व्यक्तिका नाममा भएका जग्गाको मनपरी बेचबिखनले यो समस्या निम्त्याएको विज्ञहरु बताउँछन् । कुन ठाउँमा वस्ती बसाउन दिने भन्नेबारे स्पष्ट नीति नहुँदा निम्तिएको समस्या हो यो ।

०७२ को भूकम्पपछि सरकारले भू–उपयोग नीति जारी गरे पनि त्यसअघि नै काठमाडौं ‘कंक्रिटको जंगल’ बनिसकेको थियो । खासगरी द्वन्द्वकालमा अधिराज्यभरका धेरै मानिसहरु थातथलो छोडेर/बेचेर काठमाडौं उपत्यकामा घर बसाउन लालायित भए ।

यो क्रम ०६२/६३ को जनआन्दोलनपछि ह्वात्तै बढ्यो । तर, यस दौरान सरकारले पुराना मठ–मन्दिर, घाटको संरक्षणमा ध्यान नदिँदा सार्वजनिक जग्गा अतिक्रमण हुँदै आएको छ ।

ठूलो प्लटमा भएका मठ–मन्दिर, पाटी–पौवा, गुम्बा, घाट अतिक्रमित हुँदैहुँदै अहिले खुम्चिएर नामेट हुने अवस्थामा पुगेका छन् । परापूर्वकालदेखि प्रयोग गर्दै आएको घाटहरु पनि संकटमा परेका छन् ।

चावहिल, पिंगको घाटमा देखिएको विवाद प्रतिनिधि घटना मात्र हो । मैतीदेवी, टंकेश्वर, लखुतीर्थ, टेकु, बल्खु, जोरपाटी, पाटनको बालकुमारी र स्वयम्भूको पछाडि पनि यो समस्या आइसकेको छ ।

ललितपुरको पाटनस्थित बालकुमारी मन्दिरअगाडि रहेको घाटमा बेलाबेलामा विवाद हुने गरेको छ ।

भू–माफियाको जगजगी

पछिल्लो एक दशकयता समथर जमीनको अभाव हुन थालेपछि उपत्यकाको काँठ क्षेत्र, मठ मन्दिर, गुम्बा, गुठी, मसानघाट भूमाफियाको निसानामा परेको छ । मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी भूमाफियाहरु किर्ते गरेर ऐलानी जग्गा सिध्याउन उद्धत छन् ।

मन्दिर, पाटी–पौवा, गुम्बा, गुठी, घाटसमेत अतिक्रमित हुँदै जाँदा समुदायमा द्वन्द्वको खतरा बढेको छ । पिंगको घाट आसपासका रैथानेहरुको भनाइका अनुसार अहिले त्यहाँ बस्ती बसेको क्षेत्र ऐलानी हो । अहिले घाट भएको स्थान नजिकैबाट खोला (धोबिखोला) बग्थ्यो र त्यहाँ डरलाग्दो झाडी थियो ।

धोबीखोला अहिले निकै परबाट बग्छ र झाडी फाँडेर अहिले त्यहाँ घना वस्ती बसालिएको छ । भूमाफियाहरुले किर्ते गरेर घाट आसपासका जग्गा बेचेको स्थानीयको दाबी छ । गुठियारहरुले पुरानो नक्सा र नापी खोज्दै जाने हो भने घाट आसपासको जग्गा ऐलानी रहेको तथ्य फेला पर्ने एक स्थानीय बताउँछन् ।

‘दलालहरुले किर्ते गरे बेचे । किन्नेले पनि सस्तोमा पाएपछि मसानघाटको मतलब गरेन । अहिले काटमार हुने स्थिति आयो,’ उनले भने ।

छैन मसानघाटको लगत

संविधानले मठमन्दिर, पाटी–पौवा, गुम्बा, मसानघाट लगायत ऐतिहासिक संरचनाहरुको संरक्षण र सवर्द्धन गर्दै जाने भनेको छ । संविधानअनुसार पुरातत्व विभाग, गुठी संस्थान र स्थानीय तहले यसको जिम्मा पाएका छन् ।

महानगरले सार्वजनिक जग्गा, मठमन्दिर, पाटी–पौवा, गुठी, गुम्बा, मसानघाटको खोजी, संरक्षण गर्दै जानेबारे अहिलेसम्म ठोस काम गरेको छैन । वि.सं. २०७२ मा महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख हरि श्रेष्ठले काठमाडौंका मसानघाटहरुको खोजी र संरक्षणमा चासो देखाए । सम्पूर्ण मसानघाटको लगत संकलन गरेर संरक्षण गर्दै जाने उनको योजना थियो ।

उनले एक–दुई पटक सरोकारवालासँग छलफल पनि गरे । तर, सम्पदा विभागले हेर्ने विषय जनस्वास्थ्यले गर्न नहुने भन्दै महानगर भित्रैबाट विरोध भएपछि उनको योजना तुहियो । त्यसपछि यसबारे महानगरले कुनै योजना बनाएको छैन ।

महानपालिकाको सम्पदा विभागका प्रमुख राम थापाका अनुसार मसानघाट वा घाटको लगत संकलनबारे कुनै योजना छैन । तर, पुराना संरचना, सार्वजनिक जग्गाको खोजी र संरक्षणमा विभागले काम गरिरहेको उनको दाबी छ ।

विकल्प के ?

अन्तिम संस्कारका लागि ठाउँ अभाव हुने अवस्थामा विकल्पबारे पनि सोच्न जरुरी छ । परम्परा जोगाउन खोज्दा पर्यावरणीय प्रतिकूलतालाई नजरअन्दाज गर्नु उचित हुँदैन । बस्ती बीचमा घाट राख्दा पर्ने असरबारे सबै पक्षले सोच्न जरुरी छ । मानव बस्तीभन्दा पर दाहसंस्कार स्थल बनाउँदा उपयुक्त हुन्छ ।

तर, काठमाडौंको हकमा अवस्था त्यस्तो छैन । पशुपतिमा चारैतिरबाट शव ओइरिँदा पालो नपाउने स्थिति छ । त्यसैले शवदहन स्थलका विषयमा तत्काल राज्यले सोच्नुपर्छ ।

विश्वमा अन्तिम संस्कारका कयौ तरिका छन् । कतै गाडिन्छ, कतै जलाइन्छ । हिन्दुहरुले बच्चाको मृत्यु भएमा शव गाड्ने गर्छन् भने किशोरदेखि वृद्धको मृत्यु भए जलाइन्छ । अन्य धर्ममा पनि अन्तिम संस्कारका आ–आफ्नै प्रचलन र प्रचलित घाट छन् ।

नेदरल्याण्डकी अनुसन्धानकर्ता एलिजाबेथ किन्जरले यसरबारे दुईवटा रिसर्च गरेकी थिइन्, जुन सन् २०११ र २०१४ मा प्रकाशित भएको थियो । उनले गाड्ने वा जलाएर अन्तिम संस्कार गर्दा पर्यावरणमा पर्ने असरबारे १८ बुँदा प्रष्ट्याएकी थिइन् ।

रिपोर्टमा अन्तिम संस्कारमा शव जलाउने विधि पर्यावरणीय हिसाबले क्षतिपूर्ण भनिएको थियो । गाड्दा वातावरणीय हिसाबले झन् बढी क्षति हुने उनको रिपोर्टमा उल्लेख छ ।

अमेरिका र बेलायतमा पछिल्लो समय अन्तिम संस्कारलाई पर्यावरणमैत्री बनाउन प्रयास भएको छ । जसलाई उनीहरुले ग्रीन फ्युनेरल वा इको–फ्रेड्ली अन्तिम संस्कार भनेका छन् । अल्काइन हाइड्रोलिसिस नाम दिइएको अन्तिम संस्कार विधिको मेसिनबाट शव जलाउँदा हड्डी मात्रै बाँकी रहन्छ । यसमा शवलाई पानी र केमिकलको मद्दतले गलाइन्छ ।

नेपालको सन्दर्भमा यही लागू गर्ने भन्ने छैन । कुनै अध्ययन पनि भएको पाइँदैन । तर, बर्षांैदेखि बसोबास गर्दै आएका रैथाने समुदायलसँग झगडा गरेर होइन, उनीहरुलाई विश्वासमा लिएर उत्तम विकल्प खोजी गर्ने पो हो कि ?

 

Written in ONLINE KHABAR.com

Source : https://www.onlinekhabar.com/2018/12/726513

Comments

comments

error: Content is protected !!