रानीपोखरी पुनर्निर्माण रोक्छु, सम्पदा बिग्रन दिन्नः उपमेयर खड्गी

१० पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप-मेयर हरिप्रभा खड्गीले विवादास्पद रुपमा भइरहेको रानीपोखरी पुनर्निर्माण रोक्ने बताएकी छन् । उनलाई काठमाडौं ६ का सांसद भीमसेनदास प्रधान लगायतले पनि समर्थन गरेका छन् ।

लिभेबल काठमाडौं र सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्सले सोमबार गरेको कार्यक्रममा उपमेयर खड्गीले महानगरका मेयर विद्यासुन्दर शाक्यप्रति एकलौटी काम गरेको आरोप लगाइन् । मेयरसँग आफ्नो दुई पटक मात्र त्यो पनि कार्यक्रममा भेट भएको भन्दै उनले भनिन्, ‘रानीपोखरीबारे पनि हामीलाई यसरी प्रस्तुत गरिएको थिएन । बाहिर कुरा आएपछि मैले भन्दा सल्लाह गरौंला भन्नुभयो ।’

उनले अघि भनिन्, ‘अब म काम रोक्नेतिर लाग्छु । हाम्रो सम्पदालाई बिग्रन दिन्नँ ।’

कार्यक्रममा काठमाडौं ४ का सांसद गगन थापाले शहरलाई आधुनिक मात्र नभई बस्नयोग्य बनाउनु पर्ने बताए । रानीपोखरी पुनर्निर्माण गलत रुपमा काम भइरहेको विज्ञहरुको मत रहेको भन्दै उनले पुनर्निर्माण तत्काल रोक्नु पर्ने धारणा राखे ।

काठमाडौं ६ का सांसद भीमसेनदास प्रधानले बसपार्कमा भ्यू टावर बनाउन हुँदैन भनेर आफूहरुले भन्दा महानगरले पेलेर काम गरेको सुनाए । अहिले रानीपोखरी पुनर्निर्माणमा पनि पेल्न खोजेको भन्दै उनले कुनै हालतमा सम्पदा बिगार्न नदिने बताए ।

रानीपोखरी पुनर्निर्माणबारे मेयरको ध्यानाकर्षण गराउने र नभए आन्दोलन गर्ने उनको चेतावनी छ ।

भोलि रानीपोखरी जान्छु

उपमेयर खड्गीले आफू भोलि रानीपोखरी पुनर्निर्माणको निरीक्षणमा जाने तयारीमा रहेको अनलाइनखबरलार्इ बताएकी छन् ।

उनले महानगरमा कुनै निर्णय गर्दा मेयर शाक्यले आफूहरुसँग कुनै सरसल्लाह नगरेको गुनासो गरिन् । उनले भनिन्, ‘कुनै पनि कुरा हुन्न त भन्नुहुन्न तर, त्यस अनुसार काम भएन । बोली अनुसार काम भए लखेट्नु पर्ने आवश्यक छैन ।’

रानीपोखरीबारे भएका पछिल्ला छलफलमा आफूलाई सहभागी नै नगराएको उनको गुनासो छ । विज्ञहरुले कंक्रिट हाल्नु गलत हो भनेको भन्दै उनले भनिन्, ‘भोलि म आफैं हेर्न जान्छु र त्यस्तो रहेछ भने काम रोक्छु । सम्पदा विग्रन दिन्न ।’

रानीपोखरी काठमाडौं महानगरपालिकाले गरिरहेको छ र, कंक्रिट हालिएको भन्दै सम्पदाविदहरुले विरोध गरेका छन् । तर, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने पुरातत्व विभागले स्वीकृत गरेको डिजाइन अनुसार नै काम भएको दाबी गरे ।

२०७४ पुष १० गते १७:१८ मा प्रकाशित

 

Source; Onlinekhabar.com

Comments

comments